नयाँ संवैधानिक प्रावधान मोजिम नयाँ जिल्लाको रुपमा रुकुम पूर्वको स्थापना सँगै मिति २०७५।२।१४ गते शिक्षा विकास तथा समन्वय इकाइको विधिवत गठन भएको हो । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको एउटा इकाइको रुपमा जिल्ला प्रशासन कार्यालय भित्रको एउटा कोठामा अन्य शाखाहरुसँगै रहेर शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वले कामकाज थालेको थियो ।

जिल्ला प्रशासन कार्यालयको इकाइको रुपवाट शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला स्तरको स्वायत्त कार्यालयको रुपमा पुनर्संरचित भए पनि यस इकाइले करिब २०७८/०७९ सम्म कर्मचारीको चरम अभाव व्यहोर्नु पर्यो । एक जना इकाइ प्रमुख र दुइ जना करारका कार्यालय सहयोगि मार्फत कार्यालय सन्चालन गर्नु र शैक्षिक सेवा प्रवाह गर्नु आफैमा चुनौतिपूर्ण छँदैथियो त्यसमा पनि कार्यालय व्यवस्थापन लगायतका अन्य समस्याहरु यथावत थिए तर आर्थिक वर्ष २०८०।०८१ मा इकाइमा तोकिए बमोजिमका प्राविधिक सहायकहरुको पद पुर्ति भएपछि सेवा प्रवाह र कार्य सम्पादनमा धेरै सहजता भयो । नेपाल सरकारले तोकेको क्षेत्राधिकार भित्र रही रुकुम पूर्व जिल्लाभित्र गुणस्तरीय सेवा प्रवाह गर्ने कुरामा नव नियुक्त कर्मचारी सहितको हाम्रो टिमले कुनै कसर वाँकि राखिएको छैन ।

जे जस्तो परिस्थिति भए भए पनि शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वले आफ्नो क्षमताले भ्यायसम्म शैक्षिक सेवा प्रवाहलाइ निरन्तरता दिएको छ । पर्याप्त र सबैखाले जनशक्ति तथा बजेटको अभावका वावजुद पनि विद्यालय शिक्षाका सवै क्षेत्रलाइ प्रभावकारी रुपमा व्यवस्थापन गर्ने कुरामा हरदम प्रयत्न गरिएको छ । स्थानीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै शिक्षा विकासका लागि यो इकाइ अनवरत प्रयासरत छ ।