नयाँ संवैधानिक प्रावधान बमोजिम नयाँ जिल्लाको रुपमा रुकुम पूर्वको स्थापना सँगै मिति २०७५।२।१४ गते शिक्षा विकास तथा समन्वय इकाइको विधिवत गठन भएको हो । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको एउटा इकाइको रुपमा जिल्ला प्रशासन कार्यालय भित्रको एउटा कोठामा अन्य शाखाहरुसँगै रहेर शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वले कामकाज थालेको थियो ।
जिल्ला प्रशासन कार्यालयको इकाइको रुपवाट शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला स्तरको स्वायत्त कार्यालयको रुपमा पुनर्संरचित भए पनि यस इकाइले करिब २०७८/०७९ सम्म कर्मचारीको चरम अभाव व्यहोर्नु पर्यो । एक जना इकाइ प्रमुख र दुइ जना करारका कार्यालय सहयोगि मार्फत कार्यालय सन्चालन गर्नु र शैक्षिक सेवा प्रवाह गर्नु आफैमा चुनौतिपूर्ण छँदैथियो त्यसमा पनि कार्यालय व्यवस्थापन लगायतका अन्य समस्याहरु यथावत थिए । तर आर्थिक वर्ष २०८०।०८१ मा इकाइमा तोकिए बमोजिमका प्राविधिक सहायकहरुको पद पुर्ति भएपछि सेवा प्रवाह र कार्य सम्पादनमा धेरै सहजता भयो । नेपाल सरकारले तोकेको क्षेत्राधिकार भित्र रही रुकुम पूर्व जिल्लाभित्र गुणस्तरीय सेवा प्रवाह गर्ने कुरामा नव नियुक्त कर्मचारी सहितको हाम्रो टिमले कुनै कसर वाँकि राखिएको छैन ।
जे जस्तो परिस्थिति भए भए पनि शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वले आफ्नो क्षमताले भ्यायसम्म शैक्षिक सेवा प्रवाहलाइ निरन्तरता दिएको छ । पर्याप्त र सबैखाले जनशक्ति तथा बजेटको अभावका वावजुद पनि विद्यालय शिक्षाका सवै क्षेत्रलाइ प्रभावकारी रुपमा व्यवस्थापन गर्ने कुरामा हरदम प्रयत्न गरिएको छ । स्थानीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै शिक्षा विकासका लागि यो इकाइ अनवरत प्रयासरत छ ।